| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
किर्नाको बनावट, चालचलन र नियन्त्रण गर्ने तरिका
किर्नाहरू ठुला जातको रगत चुस्ने किराहरु हुन र यिनीहरू माकुराहरुसॅग बढी मिल्दाजुल्दा देखिन्छन् र तिनै माकुराको जात अन्तर्गत पर्दछन्। संसारभरिमा सयौं प्रजातिका किर्नाहरू पहिचान गरिएका छन्, तर ती सबैलाई दुई समूहमा बाँड्न सकिन्छ:
| 1) कडा किर्ना (आइसोडिड किर्ना) यी किर्नाहरूको शरीरको माथिल्लो भागमा कडा प्लेटजस्तो खोल हुन्छ |
2) नरम किर्ना (अर्गासिड किर्ना ) यी किर्नाहरूको शरीरको माथिल्लो भाग छालाजस्तो हुन्छ, कडा प्लेटजस्तो हुदैन। |
|---|---|
![]() |
![]() |
| तस्बिरहरू विकिमीडिया कमन्सको सौजन्यबाट प्राप्त | |
किर्नाको जीवनचक्र जटिल हुन्छ र ती धेरै चरणहरूमा बाँडिएको हुन्छ। अण्डाबाट सानो लार्भा (लार्वा मतलब अंडाबाट निस्किएको, अझै बढ्न बाँकी सानो कीरा) निस्कन्छ, लार्भा बढेर निम्फ (किशोर अवस्थाको किर्ना) बन्छ, अनि त्यहि निम्फ ठूलो भएर वयस्क किर्नामा परिणत हुन्छ। ती निम्फहरू धेरै साना हुन्छन् र कहिलेकाहीँ देख्न पनि गाह्रो हुन्छ। तर वयस्क किर्नाहरू रगत चुसिसकेपछि फुल्छन् र सजिलै देखिन्छन् (दायाँपट्टि देखाइएको चित्र हेर्नुहोस्) तर कहिलेकाहीँ त्यो किर्ना देख्न जनावरको रौं नै पल्टाएर हेर्नुपर्छ।

किर्नाहरू शरीरको विभिन्न भागमा लुकेका हुन सक्छन्। कारण: विभिन्न प्रकारका किर्नाहरूलाई शरीरका फरक-फरक भाग मनपर्छ—जस्तै कानको वरिपरि, घाँटी, पेट वा गुप्ताङ्गको आसपास। त्यसैले किर्ना खोज्दा ती भागहरूमा नछुटाई हेर्नु पर्छ ।
किर्नाहरू गाइवस्तुका लागि किन ठुलो समस्या हो ?
किर्नाहरुले जनावर र मानिसमा मुख्यतः दुइ तरिकाबाट समस्या उत्पन्न गर्छनः
- यिनीहरूले धेरै संक्रामक रोगहरू बोक्ने र सार्ने गर्छन। किर्नाको कारण फैलिने थुप्रै रोगहरू छन्। किर्नाले रोग लगाउने एक कोषीय जीव, जीवाणु र बिषाणू बोक्छन् जसको कारण जनावरमा धेरै थरिको रोगहरु लाग्न सक्छन्। जस्तै जनावरको शरीरमा रातो रक्त्कोष नस्ट गर्ने रोग (बबेसियोसिस) वा किर्नाले टोकेको कारण ज्वरो, थकान र रोग प्रतिरक्षा प्रणाली कमजोर पार्ने रोग (एनाप्लाज्मोसिस), किर्नाको टोकाइबाट दिमागमा असर गर्ने रोग (टिक बर्न इन्सेफलाइटिस), किर्नाको टोकाइबाट सर्ने गम्भीर ज्वरो, जसले शरीरभित्र रगत बगाउने समस्या ल्याउँछ (क्रिमियन–कोंगो हेमोरेजिक फीवर) र किर्नाको टोकाइबाट हुने ज्वरो र जोर्नी दुख्ने रोग (लाइम रोग)।
- किर्नाहरूले जब छालामा टोक्छन्, तब गाइबस्तुले धेरै चिलाउने र घाउ बनाउने गर्छन् । धेरै किर्ना परेमा जनावर कमजोर र बिरामी हुन्छ। कुनै कुनै किर्नाले टोक्दा बिष झार्छन्, जसले गर्दा जनावरको अंग चल्न नसक्ने समस्या (प्यारालाइसिस) ल्याउन सक्छ ।
किर्ना हटाउने तरिका
यदि तपाईंले आफ्ना गाईबाख्रा वा आफ्नै शरीरमा केही किर्ना देख्नुभयो भने, तिनीहरूलाई हातैले हटाउन सक्नुहुन्छ। त्यो बाहेक किर्ना हटाउने सामान्य तरिका यस्तो हुन्छ:
- किर्नालाई छालासँग धेरै नजिकबाट चिम्टा (forceps) ले समातेर बिस्तारै र स्थिर दबाबका साथ तान्नुहोस्। तर औंलाले तान्न खोज्नु हुँदैन।
- किर्नालाई घुमाएर तान्न खोज्नु हुँदैन, किनभने त्यसो गर्दा तिनको मुखको भाग चुटिएर छालामा नै गाडिन सक्छ।
- किर्नालाई निकाल्दा किच्नु हुदैन किनभने त्यसो गर्दा भित्र लुकेको रोग फैलाउने जीवाणु बाहिर आउन सक्छ।
औसधि प्रयोग गरेर किर्नाको नियन्त्रण
किर्नाले आफ्नो अण्डा जनावरको शरीरमा होइन, झाडी‑बुट्टा वा माटोमा पार्दछ। अण्डा फुटेपछि साना किर्नाहरू बोटबिरुवाको डाँठ चढेर बस्छन् |त्यो बुट्यानलाई जनावरले छुनासाथ् त्यो किर्ना जनावरको शरीरमा तुरुन्तै टाँसिन्छ। अनि किर्ना आफुलाई अनुकुल हुने अंगहरु जस्तै कानभित्र, पुच्छर वा अन्य ठाउमा गएर टासिन्छन र त्यहि बसेर जनावरको रगत चुसेर ठुलो हुन्छन् | यसको मतलब के हो भने, तपाईंका जनावरमा किर्ना देखियो भने त्यो जनावर बस्ने वरिपरि जमिन, झाडी वा गोठमै किर्ना वा किर्नाको अन्डा भएको कारणले हो । त्यसैले किर्ना नियन्त्रण गर्न जनावरलाई बेलाबेलामा औषधि लगाइरहनै पर्छ। एकपटक मात्र औषधि लगाएर किर्ना हट्दैन। किर्ना को जीवन चक्र तोड्न जनावरलाई धेरैपटक औषधि लगाउनुपर्छ—सामान्यतया महिनामा एकपटक गरेर केही महिना सम्म तिनलाई औसधि लगाई रहनू पर्छ|
जनावरहरूमा किर्ना नियन्त्रण गर्ने सबैभन्दा राम्रो तरिका भनेको समय–समयमा किर्ना मार्ने औषधि प्रयोग गर्नु हो। यी औषधिहरू प्रयोग गर्ने केही सामान्य तरिकाहरू यस्ता छन्:
- औसधि छर्कने
- घाँटी र ढाडमा औसधि खन्याउने
- कान वा पुच्छरमा औषधि भएको ट्याग लगाउने
- सुई लगाउने वा मुखबाट खुवाउने औषधि दिने
किर्ना मार्न प्राय चलाइने दुइटा औषधी परमेथ्रिन र आइभरमेक्टिन हुन्। यी दुइटै औषधीले किर्नालाई चल्न नसक्ने बनाउछ (प्यारालाइसिस) —जसले गर्दा किर्ना चल्न सक्दैन र मर्छ।
- पर्मेथ्रिन भनेको प्यारेथ्रिन नामक कृत्रिम रसायन हो, जुन सुरुमा गोदावरी फूलबाट निकालिएको थियो। यो औषधि किर्ना मार्न प्रयोग गरिन्छ र यसलाई प्रयोग गर्ने तरिकाहरू यस्ता छन्: छर्केर, जनावरको घाँटी वा ढाडमा खन्याएर, औषधि भएको ट्याग लगाएर।
- आइभर्मेक्टिन भन्ने औषधि जवान र वयस्क किर्नाहरू मार्न उत्कृष्ट औषधी हो, तर यो अन्डाबाट भर्खर निस्किएको सानो किर्नाहरू मार्न खासै प्रभावकारी हुँदैन। आइभरमेक्टिन प्राय सुइको माध्यमबाट दिइन्छ वा झोल औसधिको रुपमा जनावरको ढाडमा खन्याएर प्रयोग गरिन्छ।
परमेथ्रिन र आइभरमेक्टिन प्रयोग गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको बोटलमा दिइएको निर्देशन ध्यानपूर्वक पढ्नु हो। यी दुबै औषधि विभिन्न मात्रा र प्रकारमा पाइन्छन्, त्यसैले औसधि कम्पनीले भनेअनुसार नै जनावरमा प्रयोग गर्नु अत्यन्त जरुरी हुन्छ। यदि औषधि कम प्रयोग गरियो भने किर्ना मर्दैन। यदि धेरै प्रयोग गरियो भने जनावरलाई विष लाग्न सक्छ।
जनावरमा किर्ना मार्न औषधि प्रयोग गर्दा अहिले देखिएको समस्या भनेको—केही किर्नाहरू औषधिले मर्न छाडेका छन्, जसलाई औषधि प्रतिरोधात्मक क्षमता भनिन्छ। त्यसैले कहिलेकाहीँ पर्मेथ्रिन र आइभर्मेक्टिनलाई पालैपालो प्रयोग गर्न सिफारिस गरिन्छ, ताकि किर्नाहरूमा औषधि प्रतिरोधात्मक क्षमता नबढोस् र तिनलाई मार्न सकियोस्।
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Puja Dahl and Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन rabowendvm@gmail.com

