| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
रुमेनमा हुने अम्लता र अन्न अतिभार (अन्नको अत्यधिक मात्रा)
उग्राउने जनावरहरुको रुमेन(पहिलो पेट वा भैसेपेट) भित्र सूक्ष्मजीवहरू (जस्तै ब्याक्टेरिया र एक कोषीय परजीबीहरु) को आफ्नै विशाल संसार हुन्छ | तसर्थ रुमेन धेरै प्रकारका सूक्ष्मजीवहरू सहितको एक जटिल पारिस्थितिक प्रणाली हो। यी सूक्ष्मजीवहरूले घाँस र परालमा भएको सेल्युलोज(सेल्युलोज भनेको रूख, घाँस, पराल, पात जस्ता वनस्पतिहरूको कडा भागमा पाइने पदार्थ हो) र अन्नका दानाहरुमा हुने स्टार्च (जस्तै आलु, मकै, चामल आदिमा हुने माड जस्तो पदार्थ) लाई जटिल जैव-रासायनिक प्रक्रियाको माध्यमबाट पचाउन मद्दत गर्छ। ती चिजहरु पच्दा तिनको रुमेनमा दुई प्रकारको अम्लिय गुणयुक्त ऊर्जाशील तरल पदार्थ उत्पादन हुन्छन्। यसरी रुमेनमा अम्ल उत्पादन हुनु सामान्य कुरा हो, तर यदि छोटो समय अवधिमा धेरै अम्लिय गुणयुक्त तरल पदार्थ उत्पादन भयो भने यसले गम्भीर समस्या निम्त्याउछ जसलाई ‘रुमेनमा हुने अम्लता’ (रुमेन एसिडोसिस) भनिन्छ। रुमेनमा हुने अम्लतालाई मानिसलाई हुने ग्यास्ट्रिक (अम्लपित्त) संग तुलना गर्न सकिन्छ।
गाई–भैँसीले खाने घाँस/पराल जस्ता आहारहरू बिस्तारै पच्छन जसबाट अम्लिय गुणयुक्त ऊर्जाशील तरल पदार्थ उत्पादन हुन्छ। यहि पदार्थले नै जनावरलाई उर्जा दिन्छ र जनावरको पाचन प्रक्रिया पनि ठीकठाकसंग चल्न मद्दत गर्छ । त्यसको ठिक उल्टो धान, गहुँ, मकै, जौ, कोदो, फापर जस्ता माड धेरै हुने अन्नबाली र दाना छिटो पच्छन् । त्यस्तो छिटो पच्ने अन्न वा दाना जनावरलाई एकै पटकमा धेरै दिएमा अत्यधिक अमिलो झोल उत्पादन हुन्छ। अनि यहि झोलेले जनावरलाई बिरामी बनाउछ।
![]() |
![]() |
|---|---|
| घॅास र परालहरूः बिस्तारै पच्छन र अम्लिय गुणयुक्त ऊर्जाशील तरल पदार्थ उत्पादन हुन्छ | अन्न या दानाः छिटो पच्छन् र अत्यधिक अमिलो झोल उत्पादन हुन्छ |
रुमेनमा बढेको अम्लियपनले विभिन्न समस्याहरु निम्त्याउछः
- रूमेनमा रहेका विभिन्न फाइदाजनक सूक्ष्मजीवहरू एसिड (अम्लियपन)को मात्रा उच्च हुनाले मर्छन अनि त झन बढी अम्लियपन उत्पादन गर्ने किटाणुहरु मात्र बॅाकी रहन्छन।
- एसिडले रुमेनको भित्री झिल्ली जलाएर छियाछिया पार्छ। माथि भनिएझै रुमेनभित्र असंख्य किटाणुहरु हुन्छन्। सामान्य अवस्थामा तिनीहरू रुमेनभित्रै बस्छन्। तर रुमेनको भित्री झिल्ली फाटेपछि किटाणुहरू फाटेको भागबाट रगतका नलीमा छिर्छन् किनकि रुमेनको झिल्लीभित्रै स–साना रगतका नली पनि हुन्छन्। अब ती किटाणुहरु रगतमा प्रवेश गरि शरीरको अन्य अंगहरूमा संक्रमण फैलाउने काम गर्छन। यसको एउटा उदाहरण भनेको कलेजोमा पीप जम्नु हो जसलाई एब्सेस पनि भनिन्छ ।
- यसको साथै अब रगतमा पनि एसिडको मात्रा बढ्छ जसको कारण अम्लरक्तता अथवा रगतमा अम्लियपन पनि बढ्छ । यसले गर्दा जनावरले खाएको अन्नलाई शक्तिमा बदल्ने शरीरको भित्री प्रक्रिया (चयापचय)मा पनि धेरै समस्याहरू उत्पन्न गराउँछ।
रुमेनमा हुने अम्लताको लक्षणहरु
रुमेनमा हुने अम्लता दुइ प्रकारका हुन्छन्:
कम तीव्र र कम गम्भीर अवस्थाको अम्लता:> यो रोगको यस्तो अवस्था हो जसमा रुमेनमा एसिडको मात्रा धेरै उच्च त हुदैन तर यसले सामान्य स्वास्थ्य समस्याहरू पटक पटक निम्त्याउन सक्छ जस्तै:
- दाना या घॅास कम खानु,
- दुध उत्पादनमा कमी आउनु,
- आहार उचित मात्रामा खादॅा पनि शरीर दुब्लो र कमजोर हुनु,
- बिना कारण पखाला लाग्नु
यस प्रकारको रोग तुरुन्तै पत्ता लगाउन सजिलो हुँदैन, र बारम्बार नदोहोरिएसम्म यसले खासै समस्या पनि गराउदैंन।
तीब्र, गम्भीर र अचानक अवस्थाको अम्लता: यो रोगलाई अन्न अतिभार पनि भनिन्छ किनकि यो रोग प्रायः जनावरले एक खेपमै धेरै मात्रामा अन्न वा दाना खाएपछि देखिन्छ वा जनावरलाई पहिले दिइराखेको भन्दा फरक अन्न वा दाना एकैचोटी धेरै दिएमा पनि यस्तो हुन्छ। यो रोग हुँदा रुमेनभित्रका किटाणुहरूको संख्या र प्रकार नाटकियरुपमा परिवर्तन हुन्छ जसले गर्दा धेरै दाना खाएको केही घण्टामै जनावरमा गम्भीर लक्षणहरु देखिन सक्छन् जस्तै:
- रुमेन (पहिलो पेट) चल्ने गति कम हुनु वा रोकिनु
- भोक हराउनु, दाना र पानी कम खानु
- झाडापखाला लाग्नु र शरीरमा पानीको मात्र कम हुनु
- जनावर झोक्राउनु, सुस्त, कमजोर, लडबडिएको जस्तो देखिनु र ढल्नु गम्भीर अवस्थामा जनावरको मृत्यु हुने सम्भावना अधिक हुन्छ
रुमेनमा हुने अम्लताको रोकथाम
यो रोग हुन नदिने मुख्य उपाय भनेको जनावरलाई माड धेरै हुने अन्नबाली (जस्तै: धान, गहुँ, मकै, जौ, कोदो, फापर आदि) वा बजारबाट किनेको दाना दिंदा थोरै थोरै मात्रामा खुवाउदै बानी पार्दै जाने हो— सबभन्दा महत्वपुर्ण कुरा -दाना एक्कासी फेर्नु हुँदैन। “केही विशेषज्ञहरू जनावरलाई खाने सोडा अथवा ‘सोडियम बाइकार्बोनेट’ खुवाउन सुझाव दिन्छन्।
अर्को सुझाव भनेको जनावरलाई सधैं लामो डाँठ भएको घाँस वा पराल खुवाउनु हो – ती लामो डाठलाई धेरै बेर चपाउनु पर्ने हुदा मुखमा र्यालको उत्पादन पनि धेरै हुन्छ। र्यालमा बाइकार्बोनेट अर्थात क्षारिय गुण भएको पदार्थ प्रशस्त हुन्छ। सोहि चपाएको खानासंगै र्याल रुमेनमा पुग्दा त्यहाँ भएको अम्ललाई निष्क्रिय बनाउन मद्दत गर्छ।
रुमेनमा हुने अम्लताको निदान
रुमेनमा कम तीव्र र कम गम्भीर अवस्थाको अम्लता छ भने त्यसको निदान गर्न कठिन हुन्छ तर यदि जनावरले साबिक बमोजिम समय–समयमा खाना नखाएमा, दूध उत्पादन घटेमा र तिनलाई पखाला लागेमा कम गम्भीर अवस्थाको रुमेन अम्लता भएको शंका भने गर्न सकिन्छ।
यसैगरी जनावरले अनाजहरु जस्तै दाना, गहु, मकै, आलु, चामल इत्यादि धेरै खाएको कारण जनावर बिरामी भएको जानकारी किसानले दिनु भएमा अन्न अतिभारको कारण बिरामी भएको निदान सजिलै गर्न सकिन्छ। रुमेनको तरल पदार्थ परीक्षण गर्दा त्यसमा अम्लको मात्रा धेरै भएमा (अम्लता वा क्षारताको मापन ५.५ भन्दा कम) पनि यो रोगको पुष्टि हुन्छ।
रुमेनमा हुने अम्लताको उपचार
जनावरहरुको रुमेनमा कम तीव्र अवस्थामा अम्लता रहेको (अथवा समस्या त्यति जटिल नभएको) शंका भएमा तथा कम गम्भीर अम्लियता भएका अवस्थामा तिनलाई खाने सोडा (सोडियम बाइकार्बोनेट) १०० देखि १५० ग्राम पानीमा मिसाएर सिरिन्ज अथवा सिधै पेटमा औसधि पठाउने नली (जसलाई स्टोमक ट्युब भनिन्छ) प्रयोग गरी मुखबाट दिनुपर्छ ।
तर तीब्र र गम्भीर प्रकारको अम्लताले जनावर सिकिस्त भैसकेको छ भने उपचार कठिन हुन्छ । यस अवस्थामा रुमेनमा भएका सामग्रीहरु शल्यक्रिया गरेर हटाउनुपर्ने हुन्छ तथा तिनको रुमेनको अम्लियता कम गर्न तरल पदार्थ दिएर उपचार गर्नुपर्ने हुन्छ।
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu

