पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

दूध ज्वरो (रगतमा क्याल्सियमको कमी)

दूध ज्वरो उच्च उत्पादन दिने दुधालु जनावरहरूमा सामान्य रूपमा देखिने समस्या हो, जसमा गाई, भैंसी, बाख्रा र भेडा समावेश छन्। यो रोग जनावर ब्याएको छोटो समयमै देखिन्छ | रगतमा क्याल्सियमको (Calcium) कमी हुनु नै यो रोगको कारक हो | क्याल्सियम मांसपेशीको संकुचन, स्नायु सञ्चार, दूध उत्पादन, र अन्य धेरै सामान्य शारीरिक कार्यका लागि आवश्यक हुन्छ। जनावर ब्याए पछि बिगौती दुध र दूधको उत्पादन बढेपछि तिनको शरीरमा क्याल्सियमको (Calcium) माग व्हात्तै बढ्छ जुन शरीरले पूर्ति गर्न सक्दैन | फलस्वरूप रगतमा क्याल्सियमको मात्र घट्छ अनि त्यो जनावरहरूमा दूध ज्वरो देखिन्छ। यो बुझ्न महत्त्वपूर्ण छ कि आधा वा त्यो भन्दा पनि बढी दुधालु गाईहरू ब्याए पछि तिनको शरीरमा क्याल्सियमको स्तर असामान्य रूपमै कम हुन्छ तर तिनीहरूले लक्षणसहितको दूध ज्वरो देखाउँदैनन्। यस्तो लक्षणबिहिन क्याल्सियमको कमीले थुनेलो (Mastitis), साल अड्कने, गर्भाशयको संक्रमण जस्ता समस्याहरूको जोखिम बढाउँछ र दूध उत्पादनमा कमी आउँछ।

दूध ज्वरोका लक्षणहरू

• दूध ज्वरो भएका गाईहरूले देखाउने लक्षणहरू हल्का देखि गम्भीर प्रकारको हुन सक्छन् | रोगको गभीरता अनुसार ती लक्षणहरुलाई विभिन्न "चरणहरू" मा बाँडिएको छ ।

चरण १ - हल्का दुध ज्वरो आएको

चरण २

चरण ३ – गम्भीर/ दुध ज्वरोले धेरै चापेको

सावधानी: दूध ज्वरोजस्तै लक्षण देखाउने अन्य समस्या पनि हुन सक्छन्, जस्तै जन्मसँग सम्बन्धित चोटपटक वा विषाक्त थुनेलो । तर, दूध ज्वरो सामान्यतया फरक देखिन्छ र छुट्याउन सकिने हुन्छ | तर यदि जनावरलाई क्याल्सियम दिएर उपचार गर्दा पनि तिनको अवस्थामा सुधार आएन भने, त्यो समस्याको अन्य कारणहरू खोज्नुपर्छ।

गाई र भैंसीमा दूध ज्वरोको उपचार

दूध ज्वरोको उपचारको मुख्य उदेश्य नै जनावरको शरीरमा क्याल्सियमको मात्रा चाँडै सामान्य बनाउनु हो। यो दुई तरिकाले गर्न सकिन्छ। पहिलो, नसाबाट क्याल्सियमको घोल दिनु, जसले क्याल्सियमको मात्रा तुरुन्तै बढाउँछ। दोस्रो, जनावरलाई मुखबाट क्याल्सियम दिनु | मुखबाट दिने क्याल्सियम सामान्यतया "क्याल्सियम बोलस" को रूपमा उपलब्ध हुन्छ।

गम्भीर दूध ज्वरोको उपचार- जनावर उभिन नसकेको अवस्था (चरण ३)

गम्भीर दूध ज्वरो भएका र उभिन नसक्ने जनावरहरूमा रगतको क्याल्सियम स्तर तुरुन्त पुनर्स्थापना गर्नु अत्यन्त जरुरी हुन्छ | यस्तो अवस्थामा क्याल्सियम नसाबाट दिनु नै सर्वोतम उपचार विधि हो। बजारमा विभिन्न थरीका क्याल्सियमहरु पाइन्छ तर दूध ज्वरो भएको गाईलाई ५०० मिलीलीटर क्याल्सियम ग्लुकोनेट वा क्याल्सियम भएको अरू कुनै घोललाई रक्त नली (जगुलर शिरा) बाट विस्तारै १५-२० मिनेट लगाएर दिनु पर्छ।

नसाबाट क्याल्सियम दिनुको प्रतिक्रिया सामान्यतया धेरै छिटो देखिन्छ | जनावर उपचारको केही मिनेटभित्र उभिन सक्छ| तर त्यस्तो बेला बसेको जनावरलाई उभिन मद्दत गर्नु पर्ने हुन सक्छ।

नसाबाट क्याल्सियम दिएर उपचार गरिएका गभीर दुध ज्वरो भएको जनावरहरूलाई करिब १२ र २४ घण्टापछि क्याल्सियमको थप खुराक (गाई र भैंसीका लागि बोलस) दिनपर्छ । तर यदि जनावरलाई नसाबाट क्याल्सियम दिए पछि पनि कुनै सुधार आएन वा तिनी उभिन सकिनन् भने, त्यो जनावरलाई मुखबाट क्याल्सियम नदिनुहोस्। यस्तो अवस्थामा, तिनलाई निल्न समस्या हुन सक्छ र सर्किने जोखिम हुन्छ।

हल्का दूध ज्वरोको उपचार -जनावर उभिएको अवस्था (चरण १ वा २)

यदि जनावर उभिएको छ भने, तिनीहरूलाई नसाबाट क्याल्सियम नदिनुहोस्। यसले क्याल्सियम पचाउन आवश्यक पर्ने हर्मोनहरूको स्रावमा बाधा पुर्‍याउन सक्छ र जनावरको स्वास्थ्य सुधारमा अवरोध ल्याउन सक्छ।

दूध ज्वरो भएका गाई वा भैंसीलाई मुखबाटै क्याल्सियम खुवाएर उपचार गर्ने हो भने सबभन्दा राम्रो औषधि भनेको क्याल्सियम बोलस हो। बजारमा धेरै प्रकारका क्याल्सियम बोलसहरु उपलब्ध छन् | तिनीहरूमा प्रायः क्याल्सियमका साथै विभिन्न प्रकारका खनिजहरू तत्वहरु (जस्तै: म्याग्नेसियम र फस्फोरस), र भिटामिन डी हुन्छन् | ती तत्वहरुले गर्दा क्याल्सियमलाई शरीरले राम्रोसँग सोस्न सक्छ। केही बोलसहरू यसरी बनेका हुन्छन् जसबाट क्याल्सियम तुरुन्तै रगतमा पुग्छ त केही बोलासहरुले बिस्तारै धेरै दिन लगाएर क्याल्सियम रगतमा छोड्दै जान्छ । बोलस दिन "बलिङ गन" प्रयोग गरिन्छ, जसले बोलसलाई जिब्रोको मुनि राखेर घाँटीभित्र पुर्‍याउन मद्दत गर्छ।

गाइलाई बोलस कसरी दिने भन्ने जान्न यो भिडियो हेर्नुहोस्

सानो जातको उग्राउने जनावरहरूमा दूध ज्वरोको उपचार

बाख्रा र भेडाजस्ता साना जनावरहरूको सानो आकारका कारण, क्याल्सियम घोल नसाबाट दिनु हुँदैन। यसको सट्टा, सन्तुलित क्याल्सियमको घोललाई काँधमाथिको बोसोको तहको छालामुनि (सबक्युटेनियस) दिनुपर्छ ताकि क्याल्सियम बिस्तारै शोषण होस्। साना उग्राउने जनावरहरूमा दूध ज्वरोको हल्का अवस्थामा मानिसहरूका लागि प्रयोग गरिने क्याल्सियम ट्याब्लेटहरू पनि प्रयोग गर्न सकिन्छ।

दूध ज्वरोको रोकथाम

ब्याउनु अघिको अवधिमा पशुको पोषण व्यवस्थापन गर्नाले दूध ज्वरोको समस्या कम गर्न सकिन्छ। एउटा सामान्य रोकथाम गर्ने तरिका भनेको जनावर ब्याउनु भन्दा केहि हप्ता अगाडी देखि नै गाईहरूलाई कम क्याल्सियम (हो, कम क्याल्सियम) र कम पोटासियम भएको अम्लीय आहार खुवाउनु हो। यद्यपि, यो सिफारिस व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ।

दूध ज्वरोको लागि बढी व्यावहारिक रोकथामको उपाय भनेको जनावर ब्याउने समयमा र त्यसको १२ घण्टापछि तिनलाई माथि वर्णन गरिए जस्तै क्याल्सियम बोलस दिनु हो।

अनुक्रमणिका मा फर्कनुहोस्

अनुवादक Abin Shakya, Renu Shakya and Rupendra Chaulagain

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu