पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

गाइ-भैसीले किला‑काँटी खाए पछि लाग्ने रोग (आघातजन्य रेटिकुलाइटिस/ हार्डवेयर रोग)

गाइ-भैसीहरु आफुले खाने दाना, घाँस, भुसालाई केलाएर खान जान्दैनन्। त्यसैले तिनले खाने क्रममा आहारमा आकस्मिक रुपमा मिसिएको किलाकाटी, पेंच, तार, औसधिको बिर्कोको टुक्राटाक्री जस्ता फलामका टुक्रा पनि संगै निलिदिन्छन्। यसरी निलिएको कुनै कुनै धातुको टुक्रा धारिलो वा तिखो हुनसक्छन्। ती तिखा धातुले तिनको पाचन नलीमा छेड्न वा प्वाल पार्न सक्छन्, जसले तिनको भित्री पेट छेड्न सक्छ। यसले ठूलो समस्या ल्याउँछ।

गाइ-भैसीले किला‑काँटी खाए पछि लाग्ने रोग बारे बुझ्न पहिले तिनको पाचन नली कस्तो हुन्छ भनी जान्न आवश्यक छ। जनवारलाई दाहिनातिरबाट हेर्दा तिनको पेटको के कस्तो भाग देखिन्छ भन्ने कुरा तल दिइएको चित्रमा देखाइएको छ। उग्राउने जनावरहरु (गाई, भैँसी, बाख्रा, भेडा) को पेटको चार भागहरु हुन्छ। याद गर्नुहोला भैंसेपेटको(रूमेन) अगाडीको खण्डलाई जालोपेट (रेटिकुलम) भनिन्छ। अन्ननली (ओसोफेगस) र जालोपेटको ठिक पछाडीपट्टि भैंसेपेट हुन्छ। त्यसैले भारी वस्तुहरू (जस्तै फलामको टुक्राहरु) यही भैंसेपेटमा जम्मा हुन्छन्। यदि तपाईँलाई उग्राउने जनावरहरुको पाचन नलीको रचनाविज्ञानको बारेमा जान्न मन छ भने, यो वेबसाइटमा जानुहोस्। Digestive Anatomy in Ruminants

गाईभैसीले फलाम खायो भने के हुन्छ त? यदि तिनले चिल्लो सफा सतह भएको सिक्का जस्तो वस्तु निलेमा खासै धेरै समस्या हुँदैन। तर किलाकाटी, पेंच, तार, औसधिको काटिएको बिर्को इत्यादि जस्ता धारिलो वस्तु खाएमा तिनले प्राय जालोपेटलाइ प्वाल पार्ने गर्छ । जब जालोपेटमा प्वाल पर्छ, जालोपेटमा भएको तरल पदार्थ पेटको भित्री भागमा चुहिएर त्यहाँ सुन्निने, संक्रमण हुने समस्या हुन्छ। यसलाइ चिकित्सक भाषामा ट्रैम्याटिक रेटिकुलोपेरीटोनाइटिस (Traumatic Reticuloperitonitis) भनिन्छ।

अनि अर्को महत्वपूर्ण कुरा त्यहि जालीपेटको छेउमै मुटु हुन्छ। यदि त्यो किला वा तार जालीपेटको अगाडि सर्दै मुटुछेउ पुग्यो र मुटुमा छेड्यो भने जनावर प्रायः बाच्दैन। यो भनेको तिनिले फाँसीको सजाय पाए बराबर हो। यो अवस्थालाइ ट्रैम्याटिक रेटिकुलोकार्डाइटिस(traumatic reticulopericarditis) भनिन्छ।

किला‑काँटी खाए पछि देखिने रोगको लक्षण र निदान

<सुरुवाती अवस्थाको लक्षणहरु: जब धातुको टुक्राले जालोपेटमा पहिलो पटक प्वाल पार्छ, यस्तो अवस्थामा रुमेन चल्ने गति कम हुन्छ। स्वस्थ जनावरको रुमेनको गति प्रतिमिनेट १-३ हुन्छ। तिनले घास कुडो खान छोडछन्, तिनी ढाड उचालेर हिँड्ने गर्छन्। हिड्दा सावधानीपूर्वक हिडेजस्तो गर्छन र दुखेको जस्तो गरि कराउने, दॅात किट्ने गर्छन्। धेरैजस्तो यो अवस्थामा तिनलाई ज्वरो आएको हुन्छ र यदि दुधालु पशु हो भने दूध ह्वातै घट्छ।

यो रोगको निदान गर्ने एउटा तरिका भनेको ‘पोल टेष्ट’ गर्नु हो जसमा एउटा काठको वा बासको लामो दरिलो लट्ठी वा पातलो खम्बालाई जनावरको काँधको ठीक पछाडिको भाग मुनितिर बाट छिराइन्छ र दुई जना व्यक्तिले काठ माथि उठाउँछन्। यदि जनावरले किला‑काँटी निलेको छ भने, यस्तो गर्दा तिनले दुखाइको लक्षणहरू देखाउँछ। यसबाहेक अल्ट्रासाउन्ड वा रेडियोग्राफी (एक्स–रे) जस्ता अझ परिष्कृत परीक्षण विधिहरू प्रयोग गरेर पनि रोगको निदान गर्न सकिन्छ।

यदि गाइभैसीले सुरुवाती अवस्था पार गरिसकेको छन् र तिनलाई रोगले गाजिसकेको छन् भने अब तिनी दुब्लाउदै जान्छन्, खान रुची गर्दैनन्, रुमेनको चाल घट्छ र तिनी झन् झन् कमजोर हुदै जान्छन्।

यदि फलामले कलेजो वा मुटु छेड्यो भने त्यो जनावर अति कडा किसिमले बिरामी भएर छिट्टै मर्न सक्छ।

गाइ-भैसीले किला‑काँटी खाए पछि लाग्ने रोगको रोकथाम

यो रोगबाट जोगिने सबैभन्दा सजिलो उपाय भनेको तिनको घास, दानामा फलामका टुक्रा नपर्ने व्यवस्था गर्नु हो। गाईभैंसीले खाने घाँस, पराल वा अन्य दानामा किलाकॅाटी वा पेच जस्ता वस्तुहरु नझरोस् भनी विशेष ध्यान दिनु आवश्यक छ। खेत–गोठ वरिपरि फलामका टुक्राटाक्री छन् भने तिनको व्यवस्थापन गर्नुपर्छ।

तर गाइबस्तुको आहारमा किला काटी पर्न नदिन त्यतिको सहज र कहाँ छ र। तसर्थ तिनले किलाकाटी निलीहालेमा त्यो धारिलो बस्तुले भित्री अंगहरुमा प्वाल परेर खति नगरोस् भनेर व्यापक रूपमा प्रयोग गरिने बिधी भनेको तिनको जालो पेटमा चुम्बक राखिदिनु हो। यसो गर्दा गाइबस्तुले निलेको फलामका टुक्राटाक्री पासोमा परेझैँ चुम्बकमा टास्सिएर बस्छन्।. सुन्दा अफ्ठ्यारो सुनिए पनि यो प्रयोग गर्न एकदमै सजिलो छ। तल चित्रमा देखाइएको जस्तो बजारमा विभिन्न प्रकारका रुमेन चुम्बकहरू पाइन्छन। त्यो चुम्बक तल चित्रमा देखाइएको “बलिङ गन” नामक उपकरण प्रयोग गरेर गाइको जालोपेटमा हालिन्छ। यसको लागि पहिला चुम्बकलाइ बलिङ गनको टुप्पोमा राख्ने, त्यसपछि गाईको मुख खोल्न हात हालेर मुखको माथिल्लो भाग (तालु) मा थिच्ने, त्यसपछि बलिङ गनलाई जिब्रोको फेदभन्दा तल पुग्ने गरी भित्रसम्म राख्ने र बलिङ गनको प्लञ्जर थिचेर चुम्बकलाइ जनावरको घाँटीको पछाडितिर खसाल्ने अनि गाईको टाउको माथि फर्काएर एकैक्षण समातेर राख्ने। यसो गर्दा धेरैजसो अवस्थामा गाईले चुम्बक आफैँ निल्छ। यदि तिनले चुम्बक ओकलेर बाहिर निकाल्यो भने फेरि प्रयास गर्नुहोस्। यति गरिसकेपछि प्राय यो चुम्बक गाइको जालो पेटमा जिवनभर रहन्छ।

तलको चित्रमा दुइ प्रकारको बलिङ गन र तीन प्रकारको रुमेन चुम्बक देखाइएको छ:

याद गर्नुहोस्: रुमेन चुम्बकले धातुका टुक्राहरुलाइ निकाल्ने वा फाल्ने काम गर्दैन तर ती किलाकाटीहरु चुम्बकमा टाँसिन्छन् र पेट छेड्न पाउँदैनन्।

आफुले किनेर ल्याएको गाईको पेटमा चुम्बक छ कि छैन भनेर दोधारमा हुन्हुन्छ भने कम्पास प्रयोग गरेर जाच गर्न सक्नुहुन्छ। यदि गाइको जालोपेटमा चुम्बक छ भने त्यहाँ नजिकै लगेर कम्पास घुमाउदा कम्पासको सुइ हल्लिन थाल्छ। यदि कम्पासको सुइ हल्लेको छैन भने सम्भवतः जालोपेटमा चुम्बक छैन।

एकपटक जालोपेटमा चुम्बक राखिसकेपछि तिनलाई निकाल्न सामान्यतया सल्यक्रिया गर्नु पर्छ, त्यसैले चुम्बक निकाल्ने काम गरिँदैन।

गाइ-भैसीले किला‑काँटी खाएको रोगको उपचार

यदि गाइ-भैसीले किला‑काँटी खाएको निक्र्यौल भएमा वा शंका लागेमा सर्वप्रथम त माथि बताइए जस्तै तिनको जालोपेटमा चुम्बक हालिदिनुस् अनि एन्टिबायोटिक र दुखाइ कम गर्ने औषधि दिनुस्। यदि उपचारले काम गर्‍यो भने ज्वरो घट्छ र जनावर बिस्तारै ठिक हुँदै जान्छ।

यदि पेटभित्र रहेको फलामका टुक्राटाक्रीहरु हटाउने नै भए त्यसको लागि प्रायःजसो अनुभवी पशु चिकित्सकले शल्यक्रिया गर्नुपर्छ तर यो प्रक्रिया सजिलो हुँदैन । त्यसमाथि यदि रोगले धेरै गाजिसकेको छ भने, जे गरेपनि जनावर पूर्ण रूपमा निको नहुन पनि सक्छ।

अनुक्रमणिका मा फर्कनुहोस्

अनुवादक Puja Dahal and Renu Shakya

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu