| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
निर्जलीकरणको व्यवस्थापन: रिहाइड्रेशन थेरापी (शरीरमा पानीको कमी पुरा गर्न दिइने उपचार बिधि)
किसानले पर्याप्त पिउन पानी नदिने जस्ता साधारण कुराहरू सहित धेरै कारणहरुले निर्जलीकरण हुन सक्छ। पखाला निर्जलीकरणको सबैभन्दा सामान्य कारणहरू मध्ये एक हो | पखाला धेरै कारणहरुले हुन सक्छ जस्तै ब्याक्टेरिया र भाइरल संक्रमण, परजीवी, पोषणको कमी वा अत्यधिक पोषण, र विभिन्न विषाक्त पदार्थहरू | विशेष गरी भर्खरको जनावरहरूमा गम्भीर पखाला घातक हुन सक्छ । एउटा अत्यन्त महत्वपुर्ण कुरा के हो भने लगभग सबै अवस्थामा, पखालाबाट मर्ने जनावरहरू (र मानिसहरू) वास्तवमा निर्जलीकरण र इलेक्ट्रोलाइट असंतुलनबाट मर्छन्, पखालाबाट होइन। यदि तपाईंले जनावरलाई हाइड्रेटेड (शरीरमा पानीको कमी पुरा गर्नु) राख्न सक्नुहुन्छ भने, पखाला सामान्यतया हट्नेछ, र जनावरलाई पखाला निको हुनेछ।
हैजाबाट पीडित मानिसहरूलाई सरल र सस्तो मौखिक रिहाइड्रेसन (शरीरमा पानीको कमी पुरा गर्न दिइने) तरल पदार्थको उपचारद्वारा बचाउन सकिन्छ भन्ने प्रमाण, पछिल्लो शताब्दीको सबैभन्दा महत्त्वपूर्ण चिकित्सा प्रगतिहरू मध्ये एक महत्वपुर्ण सफलता थियो जसले निस्सन्देह लाखौं मानिसको जीवन बचाएको छ। हैजा एक ब्याक्टेरियल रोग हो जसले गम्भीर झाडापखाला निम्त्याउँछ र यदि उपचार गरिएन भने, हैजाको मृत्यु दर उच्च हुन्छ। हैजाका बिरामीहरू निर्जलीकरणका कारण मर्छन् र यदि तपाईंले पखालाका कारण शरीरबाट गुमेको पानी र नुन प्रतिस्थापन गर्न सक्नुहुन्छ भने, लगभग सबै त्यस्ता व्यक्तिहरू निको हुन्छन् (सौजन्य : विकिपिडियबाट साभार गरिएको हैजा वार्डको तस्बिर)।
निर्जलीकरण कसरी चिन्ने ?
सबै जनावरहरूमा निर्जलीकरणको दुई स्पष्ट लक्षणहरू देखिन्छन्:
- आँखा भित्र गडेको: निर्जलीकरण जति गम्भीर हुन्छ, यो लक्षण त्यति नै स्पष्ट हुन्छ। दायाँको चित्रमा गम्भीर निर्जलीकरण र गम्भीर रूपमा आँखा गडेको बाछो देखाइएको छ।
- असामान्य "छाला खुम्च्याइ" परीक्षण: शरीरमा पानीको मात्रा सामान्य भएका जनावरहरूमा, यदि तपाईंले यसको काँध वा घाँटीमा छालाको तह चिम्टाएर छोड्नुभयो भने, त्यो छाला एकदमै चाँडो पहिलेकै अवस्थामा फर्किन्छ। तर जनावरहरू अधिक निर्जलित हुँदै जाँदा, त्यो चिमोटिएको छालाको पहिलाको अवस्थमा आउन लाग्ने समय लामो हुँदै जान्छ - अर्को शब्दमा, गम्भीर रूपमा निर्जलित जनावरमा, यदि तपाइँले छाला चिमोट्नु भयो र छोड्नुभयो भने, यो धेरै सेकेन्डको लागि खुम्चिएर बस्छ |
गडेको आँखा र असामान्य छाला प्रतिक्रियाको अतिरिक्त, निर्जलित जनावरहरू सामान्यतया निन्याउरो देखिन्छन् | यदि निर्जलीकरण गम्भीर छ भने, तिनीहरू उभिन सक्दैनन् र मर्नेछन्। पखालाबाट पीडित भर्खरको जनावरहरूको शरीरमा प्रायः धेरै एसिड हुन्छ (जसलाई एसिडोसिस भनिन्छ)। एसिडोसिसबाट पीडित बाछोहरू खडा हुँदा, तिनीहरू प्रायः लर्खराउछन् वा लड्छन्।
निर्जलीकरण को उपचार
निर्जलीकरण हल्का देखि गम्भीर हुन सक्छ र यो अवस्था समयमै पहिचान गर्न र सकेसम्म चाँडो उपचार सुरु गर्न सधैं महत्त्वपूर्ण हुन्छ।
गम्भीर रूपमा निर्जलित भएका र उभिन र हिँड्न नसक्ने जनावरहरूलाई सुइबाट सलाइन वा सन्तुलित इलेक्ट्रोलाइट झोल जस्तै लैक्टेटेड रिङ्गर दिएर (जसलाई इन्ट्राभेनस फ्लुइड थेरापी भनिन्छ) द्रुत रूपमा निर्जलीकरण र इलेक्ट्रोलाइट असंतुलनलाई उपचार गर्नुपर्छ। इन्ट्राभेनस रिहाइड्रेसन समाधानहरू केही महँगो छन् र एक कुशल प्राविधिक वा पशु चिकित्सकद्वारा यो उपचार गर्न आवश्यक छ।
हल्का वा मध्यम निर्जलीकरण भएका जनावरहरूमा, मुखबाटै तरल पदार्थ खुवाएर उपचार गर्न सकिन्छ| यसलाई ओरल रिहाइड्रेशन थेरापी भनिन्छ | यो अत्यधिक प्रभावकारी उपचार हो र निर्जलीकरणलाई कम गर्न र निर्जलीकरणलाई अझ खराब हुनबाट रोक्नको लागि सस्तो तरिका पनि हो।
बजारमा धेरै प्रकारका व्यावसायिक पाउडरहरू पाइन्छन् जुन मौखिक रिहाइड्रेशन थेरापीको लागि पानीमा मिसाएर दिन सकिन्छ, र यी धेरै प्रभावकारी छन्। यसको साथै वैकल्पिक रूपमा घरेलु समाधानहरू पनि छन् जुन निर्जलीकरणको उपचारमा धेरै प्रभावकारी हुन सक्छ। एक लिटर सफा पानीमा निम्न अवयवहरू मिसाएर धेरै सरल समाधान तयार गर्न सकिन्छ:
- 1 ठुलो चम्चा ग्लुकोज (खाने चिनी प्रयोग नगर्नुहोस् - गाईवस्तुले यसलाई पचाउन सक्दैन)
- 1 चम्चा नुन
- 1 चम्चा खाने सोडा (यो विशेष गरी एसिडोसिस भएका जनावरहरूको लागि उपयोगी छ)।
यदि निर्जलित जनावरले पिउन मन गरेको छ भने तपाईले उसलाई पिउनको लागि मौखिक रिहाइड्रेसन समाधान दिन सक्नुहुन्छ। यदि जनावरले पिउँदैन भने, तपाईंले पेटमा नलीद्वारा रिहाइड्रेसन समाधान दिन आवश्यक पर्दछ।
भर्खरैको बाछो वा बाख्राहरू निर्जलित छन् भने सबैभन्दा राम्रो योजना भनेको तिनलाई आफ्नो आमाको दूध वा बिहान र बेलुका खुवाउन जारी राख्नु पर्छ | र दिउसोतिर आमाको दूध जत्तिकै मात्रामा ओरल रिहाइड्रेशन झोलहरू पनि खुवाउनु पर्छ।
अन्तिम तर महत्त्वपूर्ण जानकारी: झाडापखालाबाट पीडित जनावरहरूबाट पानी नखोस्नुहोस् | त्यसो गर्नु भनेको तिनको लागि सबै भन्दा खराब उपचार हुनेछ | यो तिनको पखाला निको पार्नको लागि सबैभन्दा खराब उपचार हो।
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Abin Shakya, Renu Shakya and Rupendra Chaulagain
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu