| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
पेट फुल्ने समस्या
जनावरले खाएको जैविक पदार्थलाइ पचाउन रूमेनमा सूक्ष्मजीवहरूले जटिल जैव-रासायनिक प्रक्रियाहरु गरिरहेका हुन्छन् | त्यो बेला रुमेनमा निरन्तर रूपमा ठूलो मात्रामा ग्याँस उत्पादन भइरहेको हुन्छ। साधारणतया त्यो ग्याँस डकारको माध्यमबाट बाहिर निस्किन्छ| तर ती जनावरले रुमेनमा उत्पादन भएको ग्याँस हटाउन नसक्ने अवस्था सिर्जना हुने बित्तिकै गम्भीर समस्या देखिन्छ, जसलाई 'ब्लोट' भनिन्छ।
ब्लोट भएका जनावरहरूको पेट फुलेर बढेमानको भएको हुन्छ| यसले गर्दा पेट फुट्ने नै त हुँदैन तर यसले गर्दा उनीहरूलाई सास फेर्न निकै गाह्रो हुन्छ र यही कारण चाँडै मर्न सक्छन्। ब्लोटको कारण अकस्मात मृत्यु हुनु संभवाना धेरै हुन्छ | त्यसैले यस अवस्थालाई आपत्कालीन चिकित्सा अवस्था मान्नुपर्छ।
जनावरहरुमा सामान्यतया दुई प्रकारका ब्लोट देखिन्छन्, जसले रुमेनबाट ग्याँस बाहिर निस्कन नदिने समस्या निम्त्याउछन्:
१. फ्रॉथी ब्लोट (फिंजयुक्त वा झाग भएको ब्लोट): यो तब हुन्छ जब जटिल जैव-रासायनिक प्रक्रियाबाट उत्पन्न ग्याँसहरू स्थिर र टिकाउ फिंजमा थुनिन्छन् र सजिलैसँग डकारमार्फत बाहिर निस्कन सक्दैन। जब यस्तो फिंज वा झागको मात्रा बढ्दै जान्छ, रुमेन क्रमशः फुल्न थाल्छ र ब्लोट देखा पर्छ। यो प्रकारको ब्लोट सामान्यतः दुई अवस्थाहरूमा देखिन्छ:
- विशेष गरी अल्फाल्फा वा क्लोभरजस्ता घाँस भएको चरनमा चर्ने जनावरहरूमा यो समस्या देखिन्छ किनभने यस्ता दलहन घॅासहरु रुमेनमा छिटो पच्छ जसले गर्दा त्यहाँ पचेका सूक्ष्म कणहरूको मात्रा बढ्छ अनि त्यहि कणहरुमा ग्यास थुनिन्छ। त्यसमाथि ती घासमा हुने केही प्रोटिनको कणहरुले पनि फिंज उत्पादन गर्ने काम गर्छ |
- धेरै मात्रामा अन्न (grain) खुवाइएका जनावरहरूमा, विशेष गरी सानो सानो टुक्रा गरी पिसिएको अन्न खुवाउँदा फेरि पनि, छिटो पचाउने प्रक्रिया हुन्छ| त्यो पचेको स-साना कणहरूमा ग्याँसको बुलबुला थुनिन्छ। धेरै दुधदिने गाइबस्तुहरुलाई धेरै मात्रामा प्रोटिन, भिटामिन र खनिज युक्त पोषण पदार्थ दिंदा ती खाध्य पदार्थमा पाइने केही ब्याक्टेरियाले बाक्लो ल्यार्र पर्ने बस्तु पनि उत्पादन गर्छ जसमा ग्यास थुनिन्छ|
- चरन लाने बस्तुहरुमा ब्लोट देखिनुको अर्को सामान्य कारण भनेको " चरनमा लाने क्रममा आएको भिन्नता" पनि हो — जनावरहरूलाई केही समयको लागि चरनबाट हटाएर फेरि लाग्दा वा पहिलो पटक चरनमा लग्दा ब्लोट देखिन सक्छ।
२. फ्री ग्यास ब्लोट: तब हुन्छ जब जनावरले रुमेनमा जम्मा भएको ग्यासहरू डकारमार्फत बाहिर निकाल्न सक्दैन। यो समस्याको कारण प्रायः स्पष्ट रूपमा पत्ता लाग्दैन, तर यस्तो अवस्था प्रायः घाँटीको नली (इसोफेगस) आंशिक रूपमा अबरुद्ध हुने अवस्थाहरू (जस्तै: घाटीको नलीमा केहि अड्किनु, घाटीमा आएको फोका, ट्युमर) वा रुमेनको चालमा केहि बाधाअड्चन आएमा पनि हुन्छ।
ब्लोट फिंजयुक्त होस् वा ग्यासको रुपमा मात्रै होस्, दुबै अवस्थामा रुमेनको फुलाइले छातीको भाग (thorax) थिचिन्छ र फोक्सोको कार्यमा बाधा पुग्छ। यसले गर्दा तिनले स्वास फेर्न सक्दैनन्(respiratory failure) र यहि नै मृत्युको मुख्य कारण बन्न जान्छ|
क्लिनिकल लक्षणहरू
ब्लोटको निदान गर्न सजिलै हुन्छ| जनावरको पेट विशेष गरी बायाँपट्टि अत्यधिक फुलेको देखिन्छ, जुन तलका तस्वीरहरूमा देखाइएको जस्तै हुन्छ। ग्यास निरन्तर जम्मा भइरहेपछि, अन्तत पुरै पेट फुल्छ|

पेट फुल्ने बाहेक, ब्लोटका अन्य सामान्य लक्षणहरू यस प्रकार छन्:
- हिँड्न नखोज्ने र घाँस वा आहार नखाने
- तनावका संकेतहरू: बेचैन हुने, कराउने
- सास फेर्न गाह्रो हुने: छिटो छिटो सास फेर्ने, घाँटी तन्काउने र जिब्रो बाहिर निकाल्ने
- लरखराएर हिँड्ने र ढल्ने: ब्लोटको कारणले जनावर ढल्यो भने, चाँडै मृत्यु हुन सक्छ।
कुनै पनि कारणले मरेका रुमिनेन्ट जनावरहरूमा सामान्यतः पेट फुलेको देखिन्छ, किनभने मृत्यु पश्चात् पनि रुमेनमा ग्याँस उत्पादन भइरहन्छ। तर यदि जनावर ब्लोटका कारण मरेको हो भने, साधारण पोस्टमार्टम (necropsy) गर्दा इसोफेगस (घाँटीको नली) मा “ब्लोट लाइन” देखिन्छ.
घाँटीको भागमा इसोफेगस रातो देखिन्छ, तर जब इसोफेगस छातीको भागमा प्रवेश गर्छ, त्यसपछि त्यो भाग अत्यधिक फिक्का (pale) देखिन्छ। यसको कारण फुलेको रुमेनले छातीको खोल (thoracic cavity) मा परेको दबाब हो।
उपचार र नियन्त्रण
ब्लोट एक ज्यान नै लिने सक्ने अवस्था हो र यसलाई चाडै भन्दा चाँडै उपचार गर्न आवश्यक छ। ब्लोट भएका जनावरहरूमा प्रयोग गर्न सकिने विभिन्न उपचारहरू निम्नानुसार छन्:
- ठूलो छेद भएको स्टमक ट्युब (stomach tube) मार्फत ग्याँस बाहिर निकाल्ने प्रयास गर्नुहोस्। कहिलेकाहीँ ट्युबलाई धेरै पटक पुन:स्थित (reposition) गर्नु आवश्यक हुन सक्छ। यो उपाय फ्री ग्यास ब्लोट मा प्रभावकारी हुन्छ, तर फ्रॉथी ब्लोट मा प्रायः प्रभावकारी हुँदैन।
- एन्टि-फोमिङ औषधिहरू (antifoaming agents) जस्तै तरकारीको तेल, खनिज तेल (mineral oil), वा पोलाक्सालेन (polaxalene – surfactant) वा अल्कोहोल इथोक्साइलेट (alcohol ethoxylate – detergent) जस्ता बजारमा पाइने एन्टि-ब्लोट उत्पादनहरू स्टमक ट्युब मार्फत सिधै रुमेनमा हाल्न सकिन्छ। त्यसपछि जनावरलाई नजिकबाट निगरानी गरिरहनु पर्छ ताकि उपचार प्रभावकारी भएको छ वा छैन, र जनावरले डकार गर्न थालेको छ कि छैन पत्ता लागोस्। गाईको लागि तरकारी वा खनिज तेलको मात्रा २५०–५०० मिलिलिटर हुन्छ।
- यदि स्टमक ट्युब वा एन्टि-फोमिङ औषधिले ब्लोट चाँडै निको पार्न सकेन भने, रुमेन ट्रोकार (rumen trocar) को प्रयोग धेरैजसो प्रभावकारी हुन्छ। यो उपकरण बायाँ पारालम्बर फोसा (left paralumbar fossa) हुँदै सिधै रुमेनमा घुसाइन्छ। यदि पेज कसेर राख्न मिल्ने छ भने, यसलाई छालामा सुरक्षित रुपमा केही दिनसम्म राख्न सकिन्छ। तलको भिडियोमा, कर्कस्क्रु जुन एक प्रकारको रुमेन ट्रोकर हो त्यसलाई कसरी प्रयोग गर्ने भनेर देखाइएको छ।
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Puja Dahal and Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu