| Livestock Disease Summaries | English Language |
बाख्रा र भेडामा देखिने केसियस लिम्फाडेनाइटिस रोग
केसियस लिम्फाडेनाइटिस (सी एल) एक दीर्घकालीन, संक्रामक रोग हो | यो रोग कोरिनेब्याकटेरियम सिउडोट्युबरक्युलोसिस भन्ने जीवाणुको कारण लाग्दछ । यो रोग विश्वभर फैलिएको छ | साना रूमिनेन्ट (बाख्रा र भेडा) पालन गर्ने किसानहरूको लागि यो रोग एक ठूलो समस्याको रुपमा रहेको छ |
सी एल रोगका लक्षणहरू
यो रोगलाई चिनाउने लक्षण भनेको शरीरका ठूला लिम्फ नोडहरू नजिकै गिर्खा (एब्सेस) बन्ने हो—यी गिर्खाहरु या त छालाको सतह नजिक बाह्य रूपमा वा शरीरको आन्तरिक भागहरूमा बन्दछन्। यी गिर्खा साधारणतः कडा डल्लो जस्तो महसुस हुन्छन्। जब गिर्खा ठूला हुँदै जान्छन्, तिनीहरू फुट्न सक्छन् र पिप बग्न थाल्छ—जसले यो रोगको जीवाणुहरु पीपसंगै सबैतिर फैलिन्छ र वातावरण दुषित बनाउँछ | यदि त्यो पीपको सम्पर्कमा आएमा अन्य जनावरमा पनि यो रोग सर्न सक्छ। फुटेका गिर्खा सतहमा सुक्न सक्छन् तर केही हप्तापछि फेरि पुरानो वा नयाँ ठाउँमा देखा पर्न सक्छन्। सी एल रोगको कारण शरीरमा कहाँ कहाँ गिर्खाहरु आउन सक्छ भन्ने कुरा तलको चित्रमा देखाइएको छ:

जनावरको शरीरमा सीएलको गिर्खा देखिने सामान्य स्थानहरू

सी एल भएका बाख्रा/भेंडाका उदाहरणहरू: सी एल बाट प्रभावित भएका जनावरहरूको केही उदाहरण चित्रहरूमा देख्न सकिन्छ, जसबाट रोगको स्वरूप सजिलै चिनिन सकिन्छ
यदि सी एल को गिर्खा शरीर बाहिर नभइ शरीरभित्र छन् भने जनावरमा दीर्घकालीन रुपमै तौल नबढ्ने र स्वास्थ्य कमजोर हुने जस्ता लक्षण देखिन्छ । सी एल रोग लागेको शंका त्यसबेला गरिन्छ जब खोरमा रहेको बाख्राको समूहमा सी एल भएको पुष्टि भएको छ र त्यो शंकाको पुष्टि तब हुन्छ जब पोस्टमार्टम वा मृत्युपछिको परीक्षणमा शरीरको भित्रै गिर्खाहरू भेटिन्छ|
सीएल रोग सर्ने माध्यम
सी एलको संक्रमण प्रायः छालामा चोटपटक लागेपछि हुन्छ—जस्तै गोठभित्र काँडाघारी, झाडि वा टिनको टुक्राले छाला चिर्दा, कानमा ट्याग लगाउँदा वा बन्ध्याकरण (खसी पार्दा) गर्दाको घाउबाट यो रोग गराउने जीवाणु शरीरमा छिर्छ।
जब संक्रमित बाह्य गिर्खा फुट्छ, त्यसबाट निस्किएको पिपमा सी एल रोग लगाउने जीवाणु धेरै मात्रामा हुन्छ। त्यो पिप गोठ, खोरमा यत्रतत्र पोखिन्छ | त्यो पीप अन्य जनावरले छोएमा, वा कुनै माध्यमबाट पीपको सम्पर्कमा आएमा तिनलाई पनि यो रोग सर्छ | त्यसमाथि त्यो जीवाणु लामो समयसम्म गोठ-खोरमा बाच्न सक्छ| साथसाथै जनावरले सास फेर्दै, नाक वा मुखको माध्यमबाट श्वासप्रश्वासमार्फत त्यो जीवाणु तिनको शरीरमा प्रवेश गर्छ |
मानवमा संक्रमण
कोरिनेब्याकटेरियम सिउडोट्युबरक्युलोसिसले मानिसमा संक्रमण गराउने सम्भावना दुर्लभ छ तर असम्भव छैन। त्यसैले यस्ता जनावरलाई हेरसेर गर्दा पञ्जा लगाउनु जरुरी छ।
सी एल रोगको निदान
लिम्फ नोड भएको ठाउमा कडा गाठो अथवा गिर्खा देखिनु (माथिका चित्रहरूमा देखाइए जस्तै) सामान्यतः सी एल (क्यासियस लिम्फाडेनाइटिस) को राम्रो निदानको सङ्केतको रुपमा लिइन्छ। तर, अन्य जीवाणुहरूले पनि यस्तै किसिमका गिर्खा उत्पन्न गर्न सक्छन्। त्यसैले, निम्न प्रविधिहरू प्रयोग गरी अझ विश्वसनीय निदान प्राप्त गर्नु उपयोगी हुन्छ:
- • फोका भएको स्थानको रौं लाई च्यापेर पुरै खौरनुहोस् | अब इथानोलले त्यो भाग राम्रो संग सफा गर्नुहोस्। यसो गर्न पञ्जा अनिवार्य रूपमा लगाउनुहोस्।
- • सिरिंजमा १८ गजको सुई जोड्नुहोस्, अब त्यो सुइ फोकाको बीचमा घुसाउनुहोस् र भित्रको पीपको नमुना लिन तान्नुहोस्। कहिलेकाहीँ सुई थोरै अगाडि–पछाडि गर्नु आवश्यक पर्न सक्छ। यो रोगको कारण बनेको फोकाको पीप धेरै बाक्लो हुन्छ, त्यसैले फोका पूरै निकास हुने अपेक्षा नगर्नुहोस्—सुईमा थोरै मात्र पीप आउन सक्छ। यदि पीप धेरै पातलो छ भने, सम्भवतः यो सी एल रोग होइन।
- • सुईलाई सावधानीपूर्वक ढकनी लगाएर प्रयोगशालामा जाँच (कल्चर वा स्टेनिङ) का लागि बुझाउनुहोस्

सी एल रोगको उपचार र नियन्त्रण
यो रोगलाई सजिलै पूर्ण रूपमा निको हुने रोग ठान्नु हुँदैन। यो रोग उपचार गर्न निकै गाह्रो हुन्छ किनभने त्यो गिर्खाहरूलाई बाक्लो आवरणले ढाकेको हुन्छ, जसले गर्दा एन्टिबायोटिक औषधि त्यसभित्र प्रवेश गर्न सक्दैन।
यदि हाम्रो उद्देश्य पशुबथानमा यो रोग फैलिन नदिनु हो भने, संक्रमित जनावरहरू—विशेषगरी जसको फोका फुटेर पिप बगिरहेको छ — तिनलाई छानबिन गरी तिनलाई छुट्याउनु वा हटाउनु जरुरी हुन्छ ताकि अन्य जनावरहरूमा संक्रमण फैलन नदिन सकियोस्।
सी एलको उपचारका सम्भावित उपायहरू: यदि उपचार गर्नुपर्ने स्थिति आउँछ भने, निम्न विकल्पहरू उपलब्ध छन्:
- िर्खाको भागमा भएका रौं च्याप्नुहोस र काटेर फाल्नुहोस् | स्कालपेल (घाउ खोल्ने एक प्रकारको धारिलो चक्कु) प्रयोग गरी फोका फुटाउनुहोस् र पीप निस्किन दिनुहोस्। सावधान- पीप गोठ खोरमा यत्रतत्र पोखिन नदिनुहोस्! काटेर खुलेको फोकाको भित्री भागलाई ७% आयोडिनजस्तो बलियो किटनाशकले राम्ररी सफा गर्नुहोस्। केही दिनसम्म लगातार सफा गर्दै जानुहोस् र उक्त जनावरलाई अन्य स्वस्थ जनावरबाट अलग राख्नुहोस्।
- फोका फुट्नु अगाडि नै त्यसमा आयोडिन, अक्सिटेट्रासाइक्लिन वा टुलाथ्रोमाइसिन जस्ता औषधि सुईबाट दिइनुहोस्। यो विधि विशेष प्रभावकारी भने होइन, तर कहिलेकाहीँ केही लाभ पुर्याउन सक्छ।
- शरीरभरि फैलिने गरि एन्टिबायोटिक दिएर गरिएको उपचार (सिस्टेमिक ट्रीटमेन्ट) ले खासै राम्रो परिणाम दिने सम्भावना हुँदैन
सी एल रोगबाट बच्नका लागि उत्तम सल्लाहहरू:
- नयाँ जनावर ल्याएर खोरमा हुल्न अघि- तिनमा यो रोग भए नभएको खुट्याउन राम्रोसँग जाच गर्नुहोस्— सी एल रोगको लक्षण देखिएको जनावरलाई आफ्नो गोठ वा बथानमा नमिसाउनुहोस्।
- सी एल रोग लागेको जनावरहरू जसको शरीरमा गिर्खाहरु छन् भने तिनलाई अलग राख्नुहोस् वा गोठबाट हटाउनुहोस्, ताकि अरू जनावरलाई यो रोग लाग्नबाट बचाउन सकियोस् |
सी एल रोगको खोप सम्बन्धी जानकारी
धेरै देशहरूमा सी एल रोगको लागि विभिन्न प्रकारका खोपहरू उपलब्ध छन्—विशेषगरी भेँडाका लागि। तर यी खोपहरू खासै प्रभावकारी छैनन् | त्यसमाथि रोगको उपचारैको लागि ती खोफहरु सहयोगी छैनन् | तर, यो खोपले ठुलो समुहमा भेँडा वा बाख्रा पालन गरिने ठाउमा रोगको प्रकोप घटाउन भने मद्दत गर्न सक्छ।
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Puja Dahal and Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu